काठमाडौं, जेठ ३१ । काठमाडौंमा लागूऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले चलाएको अपरेसनका क्रममा गुडिरहेको कारको टायरमा गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य सितामढी जिल्लाका ३२ वर्षीय अहमद लडुन र ३३ वर्षीय महमद सहाम रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध भित्र्याइँदै गरेको गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो।
ब्युरोको टोलीले ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा निगरानी गरिरहेका बेला बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको सुजुकी कार र त्यसको एस्कर्ट गरिरहेको बा.५२ प.५४५७ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्न खोजेको थियो। तर, सवारी रोक्न दिएको संकेतलाई बेवास्ता गर्दै कार चालकले तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए। सो क्रममा प्रहरीमाथि नै गाडी चलाएर किच्ने प्रयास भएपछि आत्मरक्षा तथा संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिन कारको पछाडिको दाहिने टायरमा एक राउन्ड गोली प्रहार गरिएको थियो।
गोली लागेपछि कारको टायर पड्किएको र त्यसपछि सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको कारको डिक्की खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको ब्युरोले जनाएको छ। बरामद लागूऔषधको बजार मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको सुजुकी कार, यामाहा एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल फोनसमेत बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुबास चन्द्र बोहराले सीमा क्षेत्रदेखि राजधानीसम्म फैलिएको अन्तरदेशीय लागूऔषध तस्करी सञ्जालबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रबाट राजधानीमा लागूऔषध भित्र्याउने गिरोह सक्रिय रहेको भन्दै त्यस्ता गतिविधिमाथि निगरानी बढाइएको जनाएको छ। उक्त घटनालाई काठमाडौं उपत्यकामा लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको महत्वपूर्ण अपरेसनका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्