बुटवल, असार ३ । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्ने अभिव्यक्तिका कारण आलोचनामा परेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सामु अहिले अर्को प्रश्न उभिएको छ– आफ्नै पार्टीका सांसद तथा निर्माण व्यवसायीमाथि पनि उस्तै कडा कदम चाल्न सकिएला?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तौफिक खान ले जिम्मा लिएको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण आयोजना तोकिएको समयभन्दा निकै पछाडि पुगे पनि अझै सम्पन्न हुन सकेको छैन। एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गरिएको ठेक्का सम्झौताको अवधि सकिँदा पनि आयोजनाको प्रगति करिब ५८ प्रतिशतमा सीमित रहेको बताइएको छ।
बुटवलको करिब साढे दुई किलोमिटर सडक निर्माणका लागि पुरानो ठेक्का तोडिएपछि २०८१ असोजमा नयाँ सम्झौता गरिएको थियो। निर्माण कम्पनीले भुक्तानीको ठूलो हिस्सा लगिसकेको भए पनि कामको गति अत्यन्त सुस्त रहेको सडक डिभिजन कार्यालयको भनाइ छ।
सडक डिभिजन कार्यालय बुटवलका अनुसार आयोजनामा अझै सब-बेस, कालोपत्रे, नाली र रेलिङलगायतका महत्वपूर्ण काम बाँकी छन्। निर्माण कम्पनीले नदीजन्य सामग्रीको अभावलाई ढिलाइको कारण देखाए पनि कार्यालयले आवश्यक सामग्रीको उपलब्धता सम्भव रहेको जनाएको छ।
सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीय व्यवसायी तथा सर्वसाधारणले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। धुलो, हिलो र अव्यवस्थित सडकका कारण व्यापार व्यवसाय प्रभावित हुनुका साथै अस्पताल आउने-जाने बिरामीलाई समेत समस्या भएको स्थानीयको गुनासो छ।
यसैबीच, नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले काममा अवरोध गर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ। उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।
रास्वपाले चुनावी अभियानदेखि नै विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएको थियो। तर आफ्नै पार्टीका सांसदमाथि निर्माण कार्यमा ढिलासुस्तीको आरोप लागिरहेका बेला सरकार र सम्बन्धित मन्त्रालयले कस्तो कदम चाल्छ भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ।













प्रतिक्रिया दिनुहोस्