जनता टाइम्स

४ असार २०८३, बिहीबार २०:००

पासपोर्ट छपाइ प्रकरण : अख्तियारले आरजु देउवालाई बयानका लागि बोलायो, दियाे तीन दिनकाे म्याद


काठमाडौं, असार ४ । पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ।

आयोगले दुई दिनअघि अर्थात् असार २ गते बूढानीलकण्ठस्थित उहाँको निवासमा म्याद तामेलीको सूचना टाँसेको हो। सूचनामा सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिदेखि बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित महाशाखा नं. १२, कोठा नं. १२ मा उपस्थित भई बयान दिन भनिएको छ।

आयोगले जारी गरेको सूचनामा राहदानी छपाइ सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीमाथि अनुसन्धान भइरहेकाले बयान आवश्यक परेको उल्लेख गरिएको छ। तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत सूचनामा दिइएको छ।

यसअघि गत फागुन १३ गते उपचारका लागि आरजु राणा देउवा र उहाँका पति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर जानुभएको थियो।

राहदानी छपाइ प्रकरणमा आयोगले यसअघि तीर्थराज अर्यालसहित राहदानी विभागका केही कर्मचारीलाई पक्राउ गरिसकेको छ। ठेक्का प्राप्त कम्पनीका प्रतिनिधिलाई समेत बयानका लागि बोलाएर अनुसन्धान अघि बढाइएको आयोग स्रोतले जनाएको छ।

यस्तो छ अख्तियारको सूचना :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जारी सूचना

(अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम १४ सँग सम्बन्धित)

जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–२ बस्ने जुद्ध शमशेर जबराको नातिनी, बिनोद शमशेर जबराको छोरी, शेरबहादुर देउवाको श्रीमती, वर्ष ६५ की आरजु राणा देउवा (ना.प्र. नं. १८६०, ललितपुर) को नाममा जारी सूचना।

‘यस आयोगमा परेको वादी नेपाल सरकार, प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२, टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ।’