जनता टाइम्स

५ असार २०८३, शुक्रबार १०:५५

बाँदर धपाउने क्रममा भिरबाट लडेका ढुङ्गेलको उपचारकै क्रममा मृत्यु 


रामेछाप, असार ५ । मन्थली नगरपालिका–८ निवासी ठेटबहादुर ढुङ्गेल खत्रीको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको छ।

गत सोमबार आफ्नै बारीमा आएको बाँदर धपाउने क्रममा उहाँ भिरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। दुर्घटनापछि थप उपचारका लागि उहाँलाई काठमाडौं लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उहाँको निधन भएको स्थानीय कुमार ढुंगेलले जानकारी दिनुभयो।

भिरबाट लड्दा उहाँको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उहाँको ज्यान जोगाउन नसकिएको ढुंगेलले बताउनुभयो। उहाँको निधनप्रति स्थानीयवासीले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

चिसापानीमा केही वर्ष यतादेखि बाँदरले लगाएको बाली उठाउन नदिए पछि किसानहरू आतङ्कित भएका छन् । बाँदर धपाउने क्रममा लडेर ढुङ्गेलको ज्यान गए पछि स्थानीय थप त्रसित भएका छन् ।