रामेछाप, असार ५ । केही महिनाअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ११ जना विद्यार्थीले ४.०० जिपिए ल्याएर देशभर चर्चा कमाएको रामेछापको सुनापति गाउँपालिका–४ स्थित डहु माध्यमिक विद्यालयले फेरि अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। यसपटक कक्षा १२ को नतिजाले पनि सबैलाई चकित बनाएको छ।
साे विद्यालयकी छात्रा सरू तामाङले कक्षा १२ को वार्षिक परीक्षामा ३.९७ जिपिए प्राप्त गर्दै देशकै उत्कृष्ट नतिजामध्ये एक हासिल गर्न सफल हुनुभएको छ। ग्रामीण भेगको एउटा सरकारी विद्यालयबाट यस्तो नतिजा आउनु आफैँमा प्रेरणादायी उपलब्धि बनेको छ।
सरूको यो सफलतासँगै डहु माध्यमिक विद्यालयले कक्षा १२ मा पनि शतप्रतिशत नतिजा कायम राखेको छ। परीक्षामा सहभागी सबै २१ जना विद्यार्थी उत्तीर्ण भएका छन्। अझ उल्लेखनीय पक्ष त के छ भने २१ मध्ये २० जनाले ३.६० भन्दा माथिको जिपिए प्राप्त गरेका छन् भने विद्यालयको औसत जिपिए नै ३.७७ पुगेको छ, जुन राष्ट्रिय स्तरमै अत्यन्त उत्कृष्ट मानिने नतिजा हो।
यो लगातार दोस्रो वर्ष हो, जब डहु माध्यमिक विद्यालयले कक्षा १२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर संयोग होइन, निरन्तर मेहनत, अनुशासन र समर्पणको परिणाम भएको पुष्टि गरेको छ।
विद्यालयले यसअघि एसईई परीक्षामा पनि असाधारण सफलता हासिल गरेको थियो। ६६ जना विद्यार्थी सहभागी भएको परीक्षामा ११ जनाले ४.०० जिपिए ल्याएका थिए। सरकारी विद्यालय, त्यो पनि दुर्गम गाउँको विद्यालयबाट यस्तो उपलब्धि सार्वजनिक भएपछि देशभर डहु माध्यमिक विद्यालयको चर्चा भएको थियो। अहिले कक्षा १२ को उत्कृष्ट नतिजाले त्यस सफलतालाई अझ मजबुत बनाएको छ।
एक समय ग्रामीण सरकारी विद्यालयलाई कमजोर शैक्षिक नतिजासँग जोडेर हेरिने गरिन्थ्यो। तर डहु माध्यमिक विद्यालयले त्यो सोचलाई व्यवहारमै परिवर्तन गरिदिएको छ। सीमित स्रोत–साधन, ग्रामीण परिवेश र भौगोलिक चुनौतीका बीच पनि उत्कृष्ट नतिजा सम्भव हुन्छ भन्ने उदाहरण यस विद्यालयले प्रस्तुत गरेको छ।
विद्यालयको यो उपलब्धिलाई विद्यार्थीको अथक परिश्रम, शिक्षकहरूको समर्पण, अभिभावकको विश्वास र स्थानीय समुदायको निरन्तर सहयोगको सामूहिक प्रतिफल रहेकाे विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङले बताउनुभयाे। विद्यालयले केवल राम्रो नतिजा मात्र दिएको छैन, सरकारी विद्यालयप्रतिको विश्वास पनि बढाएको छ।
देशकै उत्कृष्टमध्ये एक नतिजा ल्याएकी सरू तामाङ आज हजारौँ विद्यार्थीका लागि प्रेरणाको पात्र बन्नुभएको छ। उहाँको सफलता एउटा व्यक्तिगत उपलब्धि मात्र होइन, ग्रामीण नेपालका विद्यार्थीका सपना, संघर्ष र सम्भावनाको सशक्त सन्देश पनि हो।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित श्री डहु माध्यमिक विद्यालय अहिले एउटा सामान्य सरकारी विद्यालयको परिचयबाट माथि उठेर ग्रामीण शिक्षाको उत्कृष्ट नमुना बनेको छ। लगातार एसईई र कक्षा १२ दुवै तहमा हासिल गरेको लोभलाग्दो सफलताले यो विद्यालयले सही नेतृत्व, मेहनती शिक्षक, अनुशासित विद्यार्थी र समुदायको सहकार्य भए सरकारी विद्यालयले पनि राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न सक्छन् भन्ने सन्देश दिएको छ।













प्रतिक्रिया दिनुहोस्