काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारको प्रस्तावक र समर्थकसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार पार्टी सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यसहित सबै पदका उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्दा प्रस्तावक र समर्थकसम्बन्धी तोकिएका मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।
सूचनाअनुसार पार्टी सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फाराम दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित फाराम पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य गरिएको छ।
निर्वाचन आयोगले एक प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट गरेको छ। यद्यपि, एक समर्थकले भने एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फाराममा समर्थकका रूपमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ।
यसैगरी, प्रस्तावक वा समर्थकका रूपमा हस्ताक्षर गर्ने व्यक्ति महाधिवेशन प्रतिनिधिको आधिकारिक सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्नेछ। साथै, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले तोकिएका मापदण्डविपरीत दर्ता गरिएका उम्मेदवारी फाराम स्वतः अमान्य हुने चेतावनी दिएको छ। आयोगले सबै उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी दर्ता गर्नुअघि नियमहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
रास्वपाले जारी राष्ट्रिय महाधिवेशनको कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध, नामावली प्रकाशन तथा मतदानसहितका निर्वाचन कार्यक्रम अघि बढाइरहेको छ। निर्वाचन आयोगले महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र विवादरहित बनाउन आवश्यक प्रक्रिया तथा मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्