जनता टाइम्स

९ असार २०८३, मंगलवार २०:२०

मालपानी–शर्मा बयानका आधारमा विष्णु पौडेल पक्राउ, राजनीतिक प्रतिशोधको आरोप


काठमाडौं,  असार ९ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री **विष्णुप्रसाद पौडेल**लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा दुई व्यवसायीको बयानका आधारमा पक्राउ गरिएको विवरण सार्वजनिक भएको छ।

विशेष अदालतमा म्याद थपका लागि पेश गरिएको सरकारी दाबीअनुसार रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानलाई आधार बनाएर पौडेलमाथि अनुसन्धान अघि बढाइएको हो।

अदालतमा प्रस्तुत विवरण अनुसार, श्रीराम टोबाको प्रालिको शेयर कारोबार र त्यससँग सम्बन्धित आर्थिक लेनदेनमा पौडेलले सहजीकरण गरेको आरोप लगाइएको छ। उक्त कम्पनीको २० प्रतिशत शेयर हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषय पनि अनुसन्धानको दायरामा रहेको उल्लेख गरिएको छ।

सरकारी पक्षका उपन्यायाधिवक्ता भीमसेन काफ्लेले विशेष अदालतमा उक्त कारोबारसँग सम्बन्धित विवरणहरू पेश गर्दै अनुसन्धानको सिलसिलामा पौडेल पक्राउ परेको जानकारी गराएका थिए।

यसैबीच, प्रतिवादी पक्षका कानून व्यवसायीहरूले भने बयान दिने व्यक्तिहरूलाई पक्राउ नगरी उनीहरूले नाम लिएको आधारमा मात्र पौडेलमाथि जरुरी पक्राउ पुर्जी जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। वरिष्ठ अधिवक्ता केदार कोइराला, रमेश बडाल र शान्तिराम खतिवडालगायतले अदालतमा बहस गर्दै यसलाई राजनीतिक प्रतिशोधको उदाहरण भएको दाबी गरेका छन्।

उनीहरूले व्यवसायी मालपानीको महँगो गाडी प्रयोगको विषयसमेत उठाउँदै सो गाडी कसले प्रयोग गर्‍यो भन्नेबारे पनि अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

अदालतमा दाबी गरिएअनुसार मालपानी र शर्मा व्यवसायिक साझेदारसमेत रहेको र उनीहरू खैनी, गुट्खा तथा करेन्ट चाउचाउ उत्पादन गर्ने उद्योगसँग जोडिएको व्यवसायिक समूहसँग सम्बन्धित रहेको उल्लेख छ।

पौडेल पक्षका वकिलहरूले भने शेयर बिक्री सहजीकरणको ठोस प्रमाण सरकारले प्रस्तुत गर्न नसकेको दाबी गर्दै आरोप राजनीतिक नियतबाट प्रेरित भएको तर्क गरेका छन्।