जनता टाइम्स

१० असार २०८३, बुधबार ०९:३२

रास्वपाको निर्वाचन तालिका प्रभावित, अझै लम्बिने भयो महाधिवेशन


चितवन, असार १० । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका प्रभावित भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गएराति १० बजे हुने निर्वाचन तालिका रहेपनि बिहान ९ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन नसकेपछि प्रभावत बनेको हो ।

मंगलवार सार्वजनिक तालिकाअनुसार असार ९ गते राती ७ बजेदेखि साढे सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख थियो । उम्मेदवारविरुद्ध दाबीविरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको थियो ।

उम्मेदवारहरुको संख्या धेरै भएकाले तालिका अनुसार काम हुन नसकेको निर्वाचन आयोगका प्रमुख भूवन केसीले जानकारी दिनुभयो । हिजो रातभर मनोनयन दर्ता भएको थियो । अहिले रुजु गर्ने क्रम रहेको निर्वाचन सचिवालयले जानकारी दिएको छ । केहीबेरमा मनोनयन गरेका व्यक्तिको सूची सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ । उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । यद्यपि निर्वाचन आयोगले आधिकारीक घोषणा गरिसकेको छैन । केन्द्रीय सदस्यमा चारसयभन्दा बढीको उम्मेदवारी परेको बताईएको छ ।

रास्वपाको विधानअनुसार १५८ केन्द्रीय सदस्य मध्ये ९९ जनामा मात्र निर्वाचन हुनेछन । ५१ जना पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था छ भने सात जना प्रदेश सभापति केन्द्रीय सदस्य हुने हुने विधानमा उल्लेख गरिएको छ ।

रास्वपामा ४ हजार ३ सय महाधिवेशन प्रतिनिधि रहेका छन् । रास्वपाको कार्यतालिका अनुसार हिजो नै महाधिवेशन सकिनुपर्ने थियो । तर महाधिवेशन प्रतिनिधि छनोटमा समस्या देखिएपछि लम्बिएको जनाईएको छ ।

निर्वाचन प्रमुख केसीले तालिका प्रभावित भएसँगै अव महाधिवेशन शनिवारसम्म जारी लम्बिने भएको छ ।