काठमाडौं, असार १४ । फिफा विश्वकप फुटबलमा इङ्गल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । गए राति इङ्गल्यान्डले पानामालाई २–० गोल अन्तरले पराजित गर्यो ।
इङ्गल्यान्डको जितमा जुड बेलिङ्घमले ६२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ह्यारी केनले ६७ औँ मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे । त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ ।
क्रोएसियाका लागि पेटार सुचिचले ३१औँ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफको ७३औँ मिनेटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए । त्यसपछि ८३औँ मिनेटमा निकोला भ्लासिचले लुका मोड्रिचको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्त्वपूर्ण जित दिलाए ।
पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ ९नकआउट चरण० मा प्रवेश गरेको छ । यस नतिजासँगै स्कटल्यान्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ ।
विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलान्टा स्टेडियममा डीआर कङ्गो र उज्बेकिस्तानबीच खेल भइरहेको छ । उज्वेकिस्तानले डीआर कङ्गोलाई १ गोल गरेको छ ।
यस्तै नेपाली समयअनुसार आज बिहान पौने ८ बजे अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिनाबीच खेल हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्