जनता टाइम्स

१५ असार २०८३, सोमबार १३:१०

सभामुख डिपी अर्यालको निश्कर्ष : ब्यवहारमा सुद्धता र काममा जिम्मेवार बन्नै सकेनन सांसद


 

काठमाडौं, असार १५ । सभामुख डोलप्रसाद अर्यालले कानून बनाउने सांसदहरू नै आफ्नो ब्यवहार र काममा सुद्ध र जिम्मेवार बन्न नसकेको निश्कर्ष सुनाउनु भएको छ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सभामुख अर्यालले गर्नुभएको सम्बोधनमा यस्तो निश्कर्ष देखिएको हो ।
सभामुख अर्यालले ‘सांसदहरूको काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेको’ भन्दै ‘सबैजना आफ्नो कामप्रति थप जिम्मेवार’ बन्नुपर्ने धारणा पटकपटक दोहोर्याउनु भयो ।
उहाँले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्दै अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने पनि बताउनु भयो । ‘अहिले प्रतिनिधिसभामा धेरै नयाँ अनुहार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ सभामुख अर्यालले भन्नुभयो । उहाँले सांसदलाई काममा जिम्मेवार र ब्यवहारमा सुधारका लागि कार्यक्रम आयोजना गरिएको भन्दै सदनमा भइरहेको गतिबिधि पदीय मर्यादाअनुसार नभएको प्रष्टै संकेत गर्नुभयो । पछिल्लो समय प्रतिनिधिसभा बैठकमा देखिएको दृष्य निकै बिवादास्पद, नियमबिपरित र अराजकतातर्फ उन्मुख रहेको आलोचना भइरहँदा सभामुखले नै सांसदहरुलाई यस्तो सुझाउनु भएको हो ।
‘संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु, सिकाईपछि पक्कै पनि त्यस्ता कमजोरीका कुरा नहुने बिश्वास पनि लिएको छु,’ सभामुख अर्यालले भन्नुभयो ।
जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उहाँको जोड थियो ।
संसद सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा आज र भोलि अभिमुखीकरण कार्यक्रम राखेको हो । अभिमुखीकरणमा कानून निर्माणमा अबलम्बन गर्नुपर्ने बिधिदेखि संसदीय मर्यादा, आचरण र ब्यवहारसम्मको बारेमा प्रशिक्षण दिइने सचिवालयले जनाएको छ ।