जनता टाइम्स

१६ असार २०८३, मंगलवार १२:४८

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच समन्वय नभएसम्म अपेक्षित परिणाम आउँदैन : सभामुख अर्याल


काठमाडौं, १६ असार । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच गति, भावना र कार्यसमन्वय नमिलेसम्म जनताले अपेक्षा गरेअनुसारको परिणाम हासिल गर्न नसकिने बताउनुभएको छ।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले संविधानको अक्षरशः पालना, कानुनी शासन र राज्यका तीनै अङ्गबीच प्रभावकारी सहकार्य लोकतन्त्रलाई सुदृढ बनाउन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले मुलुकको समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित विषयमा प्रभावकारी उपलब्धि हासिल गर्न कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

सभामुख अर्यालले देशलाई समृद्ध, सुशासित र नागरिकमैत्री बनाउन राज्यका सबै निकाय तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै वैदेशिक रोजगारीमा रहनुभएका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले नेपाललाई बस्नलायक, अवसरयुक्त र समृद्ध राष्ट्रका रूपमा विकास गर्न सरकार, संसद्, न्यायपालिका, नागरिक समाज तथा सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

सभामुख अर्यालले नागरिक समाजले पनि राज्यका निकायलाई निरन्तर खबरदारी गर्दै सुशासन र समृद्धिको अभियानलाई थप प्रभावकारी बनाउन रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो।