जनता टाइम्स

१८ असार २०८३, बिहीबार १४:५२

मुख्यमन्त्रीलाई पिएले नै नराम्रोसँग फसाइदिएपछि


कैलाली, असार १८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा पर्नुभएको छ । बुढेसकालमा अल्लारे ठीटो बनेर हुईकदाको भिडियो पिएले नै सोसल मिडियामा हालिदिएपछि मुख्यमन्त्री शाह ट्राफिकको फेला पर्नुभएको हो ।

मुख्यमन्त्री निवास परिसरमा हेल्मेट नलगाई मोटरसाइकल चलाएका उनलाई पाँच सय रुपैयाँ जरिवाना गरिएको हो । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले हिजो राति टिकटकमा शाहले हेल्मेटबिना बाइक चलाएको भिडियो पोष्ट गर्नुभएको थियो ।

केही समययता वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री शाहले साँझ भने मोटरसाइकल चलाएको दृश्यले सामाजिक सञ्जाल तताएको थियो । तर, हेल्मेटसमेत नलगाएको भन्दै चर्को आलोचना भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको टोलीले आज मुख्यमन्त्री निवासमै पुगेर चिट काटेको हो । उहाँले ५ सय रुपैया जरिवाना तिर्नुपरेको छ ।