काठमाडौं, असार १९ । नेपाल आयल निगमले उचित कारणबिना पेट्रोलपम्प बन्द गरी इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ।
पेट्रोलियम व्यवसायीहरूले मूल्य घट्ने अनुमान गर्दै मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशभर इन्धन आपूर्ति प्रभावित भएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनमा निगमले तत्काल पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गरेको हो।
संशोधित विनियमावलीअनुसार ‘बिक्रेताले नोजल ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ व्यवस्था थपिएको छ।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक ६ लाख रुपैयाँ जरिवानासहित १० दिन आपूर्ति रोक्का हुनेछ भने तेस्रो पटक कसुर दोहोरिए १० लाख रुपैयाँ जरिवानाका साथै १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिने व्यवस्था गरिएको छ।
नेपाल आयल निगमका अनुसार संशोधित व्यवस्था लागू भएसँगै अब कुनै पनि पेट्रोलपम्पले उचित कारणबिना सेवा बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही गरिनेछ।
निगमले यो कदम अत्यावश्यक पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव रोक्न तथा उपभोक्ताको हित संरक्षण गर्न ल्याइएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्