जनता टाइम्स

२१ असार २०८३, आईतवार १५:३१

गगनको ठोकुवा : बालेन सरकार विधि र प्रक्रियाभन्दा कानुनविपरीत काम गर्न लाग्यो


काठमाडौं, असार २१ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको ठोकुवा गर्नुभएको छ ।

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरु भएको समीक्षात्मक कार्यक्रममा सभापति थापाले बालेन सरकारले बिधि र प्रकृयाभन्दा बाहिरका काम मात्रै गरिरहेको बताउनु भयो । उहाँले बालेन सरकार २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको बताउनु भयो ।

‘विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ । यस्तो अभ्यास हामीले विगतमा पनि देखेको हो, नेकपाको सरकार भन्दा अहिलेको सरकार फरक देखिएन,’ थापाले भन्नुभयो । उहाँले यस विषयमा सुकुमबासी बस्ती उठाउने विषयलाई उदाहरण दिनुभयो । कानुन बनाएर भूमिहीनको समस्या समाधान गर्न सकिने भए पनि सामाजिक सञ्जालमा वाहवाही पाउन पहिला घर भत्काइदिएको थापाको भनाई छ ।

सभापति थापाले रास्वपाको एकल सरकार नागरिकको जीवन (लाइफ) भन्दा सामाजिक सञ्जालको लाइक (लोकप्रियता) मा लाग्दा समस्यामा परेको जिकिर पनि गर्नुभयो । ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ, त्यसै काममा लागेको छ। भूमिहीनहरूको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक चाहिँ आउँदैनथ्यो, त्यसैले सुकुमबासी बस्तीमा डोजर चलाइयो। सञ्जालमा चर्चा भयो,’ थापाले भन्नुभयो ।

सभापति थापाले बालुवाटारबाट भन्दा सिंहदरबारबाट शासन गरेको भन्दै प्रधानमन्त्री बालेन शाहको प्रशंसासमेत गर्नुभएको छ ।