काठमाडौं, असार २५ । कैलालीमा सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो” भन्ने अभिव्यक्ति दिनुभएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति विशेषको नभई कानुनको शासनअनुसार काम गर्ने संस्था भएको बताउँदै, “हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो। केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो,” भन्नुभएको थियो।
उहाँले आफ्नो भनाइ मन परेमा ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गर्नुभयो। उहाँका अनुसार यो विषयमा अनुशासनात्मक कारबाहीभन्दा पनि उक्त अभिव्यक्ति कुन सन्दर्भमा दिइएको हो भन्नेबारे प्रारम्भिक जानकारी लिन बोलाइएको हो।
सार्वजनिक कार्यक्रममा डीएसपी चौधरीले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाल प्रहरीमा प्रवेश गरेको उल्लेख गर्दै, “हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर आएका होइनौं,” भन्ने अभिव्यक्ति पनि दिनुभएको थियो।
उहाँले कार्यक्रममै उक्त भिडियो सार्वजनिक नगर्न आग्रह गर्नुभएको सुनिए पनि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाल प्रहरीले घटनाबारे चासो लिँदै उहाँलाई स्पष्टीकरणका लागि जिल्ला बोलाएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्