काठमाडौं,असार २५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्दा गम्भीर घाइते हुनुभएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब पौने २ बजेतिर मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनुभएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘राइड शेयरिङ’ व्यवसायमा संलग्न नेपालीले राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गर्नुभएको थियो। उक्त मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ‘ह्विल लक’ लगाएपछि विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनापछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाउनुभएको पाइएको जनाएको छ। घटनाको कारण र सम्पूर्ण विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते हुनुभएका नेपालीलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरेको जनाएको छ।
घटनापछि राहदानी विभाग आसपास केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। प्रहरीले घटनास्थलको सुरक्षा व्यवस्था कडा पार्दै अनुसन्धान अघि बढाएको छ।













प्रतिक्रिया दिनुहोस्