काठमाडौं, असार २५ । नेकपा (एमाले) पुनर्गठनको कार्ययोजना तयार गर्न गठित कार्यदलले प्रतिवेदन मस्यौदा तयार गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई प्रदान गरेको छ।
बिहीबार बसेको कार्यदलको बैठकले कार्यदलका संयोजक बादल र सदस्य–सचिव पोखरेललाई मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकमा देशभरबाट संकलन गरिएका सुझावबारे विस्तृत छलफल गरिएको थियो।
कार्यदलले देशका १३ विभिन्न स्थानमा पुगेर नेता–कार्यकर्ता तथा सरोकारवालाबाट सुझाव संकलन गरेको जनाएको छ। बैठकले सुझाव संकलन कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याउने स्थानीय समिति तथा कार्यक्रममा सहभागी सबैप्रति धन्यवादसमेत व्यक्त गरेको छ।
त्यसैगरी, बैठकले एमालेका उपाध्यक्ष विष्णु पौडेलको तत्काल रिहाइको माग पनि गरेको छ। सुझाव संकलन अभियानकै क्रममा सुर्खेतबाट पक्राउ परेका पौडेलको गिरफ्तारीलाई कार्यदलले राजनीतिक प्रतिशोधबाट प्रेरित कदम भएको ठहर गर्दै त्यसको घोर निन्दा र भर्त्सना गरेको छ।
कार्यदलले प्राप्त सुझावका आधारमा पुनर्गठनसम्बन्धी प्रतिवेदन अन्तिम रूप दिएर पार्टी नेतृत्वसमक्ष पेश गर्ने तयारी गरिएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्