जनता टाइम्स

२५ असार २०८३, बिहीबार २०:४९

सरकारको भुईँमा खुट्टा छैन, उम्लिएको दूधजस्तै टिक्दैन’ : अध्यक्ष ओली


काठमाडौं, असार २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले १०० दिनको अवधिमा जनतालाई राहत दिने कुनै उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउनुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले जनतालाई खुसी बनाउनेभन्दा निराश बनाउने काम गरेको टिप्पणी गर्नुभयो। उहाँले अहिले देशमा खुसी हुने एउटै माध्यम राति अबेरसम्म विश्वकप फुटबल हेर्नुजस्तो अवस्था सिर्जना भएको व्यंग्य गर्नुभयो।

अध्यक्ष ओलीले वर्तमान सरकारलाई ‘भाँडोमा उम्लिएको दूध’सँग तुलना गर्दै सरकारको “भुईँमा खुट्टा नै नभएको, कर्तव्यबोध शून्य रहेको र यस्ता रूपमा उम्लिएका सरकार स्थिर हुन नसक्ने” दाबी गर्नुभयो।

उहाँले प्रधानमन्त्री वा मन्त्रीहरूको आलोचना गर्दा पनि जेल जानुपर्ने वातावरण बनेको आरोप लगाउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब बढेको टिप्पणी गर्नुभयो। सरकारको कार्यसम्पादनको मूल्यांकन गर्ने जिम्मा भने जनता र सञ्चारमाध्यमकै रहेको उहाँको भनाइ थियो।

एमाले समाप्त भइसकेको भन्ने टिप्पणीको खण्डन गर्दै अध्यक्ष ओलीले एमाले देश निर्माण र सफल नेतृत्वका लागि स्थापित भएको पार्टी भएकाले कुनै पनि परिस्थितिमा कमजोर नपर्ने दाबी गर्नुभयो।

उक्त कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य डी.बी. कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्नुभएको थियो।