जनता टाइम्स

२६ असार २०८३, शुक्रबार १२:२६

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन


काठमाडौं,  असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार वीर अस्पतालमा उपचाररत नेपालीको शुक्रबार निधन भएको हो। यद्यपि, समाचार तयार पार्दासम्म अस्पताल प्रशासनले औपचारिक रूपमा मृत्युको पुष्टि गरेको छैन।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका संवेदनशील भागमा गम्भीर क्षति पुगेको थियो। अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उहाँको उपचारमा डा. पियूष दाहालको नेतृत्वमा प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका २१ सदस्यीय विशेषज्ञ चिकित्सक टोली खटिएको थियो।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वार अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनुभएको थियो। घटनालगत्तै प्रहरीले उद्धार गरी वीर अस्पतालमा भर्ना गरेको थियो।

घटनाको कारण र पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।