विराटनगर, असार ३२ । नेपाली कांग्रेसले कोशी प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। विराटनगरमा बिहीबार बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले प्रदेश सरकारमा एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिने निष्कर्ष निकालेको हो।
कोशी प्रदेश कांग्रेसका सभापति उद्धव थापाले एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय भएको पुष्टि गर्दै सरकारमा रहेका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने अझै निर्णय नभएको जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यदलको बैठक चलिरहेकै बेला पार्टीका शीर्ष नेताहरूसँग टेलिफोन संवाद भएपछि मन्त्री फिर्ता बोलाउने विषयमा तत्काल निर्णय हुन सकेन। केन्द्रबाट औपचारिक निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीहरूबारे आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो।
सभापति थापाले एमालेसँगको गठबन्धन अन्त्य भएपछिको राजनीतिक अवस्थाबारे कांग्रेसले तीनवटा विकल्पमा छलफल गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रमा पुनः एमालेसँग सहकार्यको वातावरण बनेमा त्यसलाई निरन्तरता दिने, सहकार्य पूर्ण रूपमा अन्त्य भएमा नेकपा तथा अन्य दलसँग मिलेर नयाँ सरकार गठन गर्ने र ती दुवै अवस्था सम्भव नभए कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा बस्ने विकल्पमा छलफल भइरहेको छ।
हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्। सरकारमा भौतिक पूर्वाधार मन्त्री सुनिता कुमारी सुनुवार, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली तथा भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
यद्यपि, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले तत्काल पद नछाड्ने अडान लिएको स्रोतको दाबी छ। मन्त्रीहरूको यही अडानका कारण कार्यदलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्न नसकेको बताइएको छ।
केन्द्रमा विकसित राजनीतिक घटनाक्रम र पार्टी नेतृत्वको औपचारिक निर्देशनपछि मात्रै कोशी प्रदेश सरकारमा कांग्रेसको आगामी रणनीति र मन्त्रीहरूको भूमिकाबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्