जनता टाइम्स

३२ असार २०८३, बिहीबार १७:१८

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, मिटरव्याज पीडितसँग वार्ता टोली गठनदेखि नयाँ सिक्का टकमरीसम्म


काठमाडौं, असार ३२ । सरकारले मन्त्रिपरिषद् बैठकबाट पारित भएका सात वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गर्नुभएको हो।

बैठकले अनुचित लेनदेन (मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न तथा वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।

त्यसैगरी, नेपाल राष्ट्र बैंकलाई रु. १ र रु. २ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको छ।

बैठकले ‘नेपाल कानुन सूचना पाइलट प्रणाली’ स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

संरक्षित क्षेत्रभित्र रहेका राष्ट्रिय वन क्षेत्रमा थप रुख तथा पोल हटाउनुपर्ने अवस्था आएमा प्रचलित कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयबाटै स्वीकृति दिन सकिने व्यवस्था पनि स्वीकृत गरिएको छ।

यस्तै, विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने, ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत गर्ने तथा सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ताले जानकारी दिनुभयो।