जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १६:०५

सुनसरी घटनामा घाइते युवकको उपचारका क्रममा मृत्यु, मृतकको संख्या दुई पुग्यो


काठमाडौं,  साउन  १४ । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–३ का मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा प्रदर्शनकारी र प्रहरी गरी १६ जना घाइते भएका थिए । घाइतेमध्ये आठ जना प्रदर्शनकारी र आठ जना प्रहरी रहेका छन् ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ ।