जनता टाइम्स

१४ श्रावण २०८३, बिहीबार १८:१९

सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल


सुनसरीसहित मधेशका घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुव्यवस्था र निष्पक्ष छानबिनमा जोड

काठमाडौं, साउन १४ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेश प्रदेशका विभिन्न स्थानमा पछिल्लो समय देखिएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्नुभएको छ।

बिहीबार जारी गर्नुभएको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक तथा धार्मिक सहिष्णुता, आपसी सद्भाव, मेलमिलाप र राष्ट्रिय एकताको अनुपम परम्परा बोकेको मुलुक भएको उल्लेख गर्दै यही विशेषतालाई जोगाउनु आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।“सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो। शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,” राष्ट्रपति पौडेलले अपिलमा उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति सुरक्षा र सुव्यवस्था पुनःस्थापित गर्न सरकार प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ। नागरिकले शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न राज्यका सबै निकाय जिम्मेवार बन्नुपर्ने उहाँको धारणा छ।“यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैमा हार्दिक अपिल गर्दछु,” उहाँले भन्नुभएको छ।

राष्ट्रपति पौडेलले सुनसरी घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषीउपर कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ।

उहाँले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वर्तमान परिस्थितिमा सबै पक्षलाई संयम, जिम्मेवारी र सामाजिक सद्भाव कायम राख्न आह्वान गर्नुभएको छ।