काठमाडौं, साउन १४ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा तनाव फैलिएको चार दिनपछि प्रधानमन्त्री बालेन्द्र साह बालेनकाे बल्ल बाेलि फुटेकाे छ ।
हिंसामा तीन जनाकाे ज्यान गइसके पछि बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै बालेनले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गर्नुभएको छ। सम्बोधनमा उहाँले घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर रहेको, निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने तथा सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्रीले सम्बोधनको अन्त्यमा मैथिली भाषामासमेत सन्देश दिँदै तराई–मधेशका नागरिकसँग शान्ति र संयमताका लागि अपिल गर्नुभएको छ।
सम्बोधनको प्रारम्भमै प्रधानमन्त्री साहले सुनसरीको देवानगञ्ज, सिरहालगायतका स्थानमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ । “केही दिनअघि सुनसरीको देवानगञ्ज, सिरहालगायतका स्थानमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिप्रति नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। घटनामा निधन हुनुभएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनप्रति नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।
घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उहाँले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिनुभयो। “घटनामा घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको छु,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री साहले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनी कारबाही हुने स्पष्ट पार्नुभयो। “म सबैलाई विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,” उहाँले भन्नुभयो।
सरकारले परिस्थिति सामान्य बनाउन सर्वदलीय बैठक, स्थानीय जनप्रतिनिधि, नागरिक समाज तथा धार्मिक अगुवासँग निरन्तर संवाद गरिरहेको जानकारी पनि उहाँले दिनुभयो। “परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु तथा समुदायका अगुवासँग निरन्तर संवाद भइरहेको छ। गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगिसक्नुभएको छ भने राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट आवश्यक निर्णयसमेत गरिसकिएको छ,” उहाँले भन्नुभयो।
प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा फैलाइने अफवाह र घृणायुक्त सामग्रीप्रति सचेत रहन आग्रह गर्दै आधिकारिक सूचनामात्र विश्वास गर्न सबैसँग अनुरोध गर्नुभयो। “सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्य बढाउने सामग्री प्रचार–प्रसार नगर्न म सबैमा अनुरोध गर्दछु। सरकारी निकायबाट जारी भएका आधिकारिक तथ्य र सूचनामात्र विश्वास गर्न विशेष आग्रह गर्दछु,” उहाँले भन्नुभयो।
उहाँले नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै हिंसा र अराजकता फैलाउने गतिविधिमाथि कडा कदम चालिने चेतावनी दिनुभयो। “प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च दायित्व हो। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि गतिविधिप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ,” उहाँले स्पष्ट पार्नुभयो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्परा मान्ने अधिकार दिएको उल्लेख गर्दै प्रधानमन्त्री साहले धर्मले हिंसा नभई प्रेम र सहिष्णुता सिकाउने बताउनुभयो। “धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो,” उहाँले भन्नुभयो।
देवानगञ्जको घटनालाई आधार बनाएर कुनै समुदायलाई दोषारोपण गर्नु वा प्रतिशोधको भावना फैलाउनु उचित नहुने उहाँको भनाइ थियो। “देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुन सक्दैन,” उहाँले भन्नुभयो।
सम्बोधनमा प्रधानमन्त्री साहले नेपाली समाजको सबैभन्दा ठूलो शक्ति आपसी एकता र सहिष्णुता भएको उल्लेख गर्दै अशान्तिको अवस्था अन्त्य गर्न सबैलाई आह्वान गर्नुभयो। “हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छ। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ,” उहाँले अपिल गर्नुभयो।
सम्बोधनको अन्तिम अंशमा प्रधानमन्त्री साहले मैथिली भाषामासमेत तराई–मधेशका नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय तथा सञ्चारमाध्यमलाई संयमता अपनाउँदै शान्ति र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्नुभयो। “हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी,” प्रधानमन्त्री साहले मैथिली भाषामा अपिल गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्