काठमाडौं, साउन १६ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले शनिबार बिहान विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, कान्तिलोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन स्थगित गरिएको छ।
इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा लगातारको वर्षापछि सडक हिलाम्मे बनेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ।
यसैबीच, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेकाले सो सडकखण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्