जनता टाइम्स

१६ श्रावण २०८३, शनिबार १७:१५

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा बेपत्ता विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन


काठमाडौं, साउन १६ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा परी विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ ।

‘ब्रड पिक’ हिमालको हिमपहिरोमा निर्मलसहित अन्य १० जना बेपत्ता हुनुभएको थियो । बेपत्ता रहनुभएका पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उहाँको निधन भएको जानकारी दिएको छ ।

बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार अर्थात साउन १४ गते मध्याह्नतिर हिमपहिरो गएको थियो ।

उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता हुनुहुन्थ्यो। पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । म्याग्दीमा जन्मिनु भएका पुर्जा निम्स दाईको नामले चर्चित हुनुहुन्छ । उहाँ सुरुमा बेलायती सेनामा काम गर्नुहुन्थ्यो ।

गोरखा सैनिकमै हुँदा आरोहण यात्रा थाल्नुभएका पुर्जाको आधिकारिक वेवसाइट निम्सदाइ डटकमका अनुसार उनले कुल १६ वर्ष सेनामा बिताउनु भयो । त्यसमध्ये उहाँले ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताउनु भएको छ ।

म्याग्दीमा जन्मिएका उनी १८ वर्षको उमेरमा सन् २००३ मा गोरखा सैनिकमा भर्ती हुनुभएका पुर्जा सन २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बन्नुभएको थियो । सो यूनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य र रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उहाँले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट छुट्टीमा आएको मौकामा सगरमाथा आधार शिविरको यात्रा तय गर्नुभयो । सोही यात्राले उहाँलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा ह्वात्तै बढाएको हो । सोही यात्राबाट काठमाडौं फर्किएपछि उहाँले आफ्ना गाइडसँग आरोहण सिकेर सँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गर्नुभएको थियो ।
सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आउनु भयो ।

निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल हुनुभयो । २०२१ मा माउन्ट केटु निम्स दाइ र डेभिड सहित १० नेपाली आरोही टोलीले विन्टर सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।