जनता टाइम्स

१६ श्रावण २०८३, शनिबार १७:४६

हिमपहिरोमा निर्मल पुर्जासहित ६ नेपाली आरोहीको निधन, प्रधानमन्त्री बालेनले गरे पुष्टी


काठमाडौं, साउन १६ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परेका बिश्व कीर्तिमानी आरोही निर्मलपुर्जा (निम्स दाइ) सहित सबै आरोहीको निधन भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत निम्स दाईसहित हिमपहिरोमा परेको कोही पनि जिवित नरहेको सूचना सार्वजनिक गर्नुभएको हो ।

ब्रोड पिक आरोहणका क्रममा बिहीबार हिमपहिरोमा परेर ६ नेपालीसहित १० आरोही हराएका थिए। हराएका सबैको निधन भएको सूचना पाकिस्तानबाट आएको हो ।
हिमपहिरोमा हराएका १० जनामध्ये चार शव शुक्रबार भेटिएको थियो। जसमध्ये तीन जनाको शुक्रबार नै पहिचान खुलेको थियो।

अन्य आरोहीको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री शाहले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।’

ब्रोड पिक आरोहणका क्रममा ज्यान गएका नेपाली आरोहीमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा हुनुहुन्छ । आरोहण दलका १० मध्ये चार जना विदेशी छन्। विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।

ओमानकी नाधिरा र अमेरिकी नागरिक म्यालोरी गाइसको शुक्रबार नै शव भेटिएको थियो।

 

सवैको निधन भएको जानकारीसहित प्रधानमन्त्री शाहले लेख्नुभएको छ, ‘आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् । विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।