जनता टाइम्स

१६ श्रावण २०८३, शनिबार १६:४३

पाकिस्तानको ब्रड पिकमा बेपत्ता आरोहीको खोजी जारी, ड्रोनले शव देखाएको स्थानमा उद्धार टोली


काठमाडौं, साउन १६ । पाकिस्तानको गिलगिट-बाल्टिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि बेपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान शनिबार पनि जारी रहेको छ । पाकिस्तान सरकारले दिएको जानकारअिनुसार ड्रोनबाट सम्भावित शव देखिएको स्थानमा हेलिकोप्टरमार्फत हवाई टोली र स्थलमार्गबाट ग्राउन्ड टोली परिचालन गरिएको हो ।

पाकिस्तानका लागि नेपाली राजदूत रिता धितालले ड्रोनबाट शव देखिएका स्थानमा हवाई तथा स्थल दुवै टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पाकिस्तानको स्कार्दुमा रहेका सम्बन्धित अधिकारीबाट प्राप्त जानकारीअनुसार बिहानैदेखि खोजी अभियान पुनः सुरु गरिएको छ ।

ड्रोनबाट पहिचान गरिएको स्थानमा हेलिकोप्टरमार्फत हवाई उद्धार टोली र स्थलमार्गबाट ग्राउन्ड टोली पठाइएको धितालको भनाइ छ । उहाँका अनुसार शनिवार ड्रोनले देखाएको लोकेसनमा एरियल टिम र ग्राउन्ड टिम दुवैलाई पठाउने भन्ने जानकारी पाकिस्तान अल्पाइन क्लबबाट आएको छ ।

शुक्रबार ड्रोनमार्फत घटनास्थलमा थप शव देखिएको जानकारी आएपछि शनिबारको उद्धार अभियान सोही क्षेत्रमा केन्द्रित गरिएको हो । यो समाचार तयार पार्दासम्म खोजी अभियान जारी रहे पनि थप आधिकारिक प्रगति प्राप्त भएको छैन ।

ब्रड पिकमा बिहीबार क्याम्प-२ बाट क्याम्प-३ तर्फ उक्लिने क्रममा करिब ६,६०० मिटर उचाइमा हिमपहिरो गएको थियो । उक्त अभियान काराकोरम एक्सपेडिसन्स, इमाजिन क्लाइम्ब पाकिस्तान र ब्लु स्काई ट्रेक एन्ड टुर्सले संयुक्त रूपमा आयोजना गरेका थिए ।

१० सदस्यीय अन्तर्राष्ट्रिय टोलीमा नेपाल, अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका पर्वतारोही सहभागी थिए । टोलीमा विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) सहित ६ नेपाली पर्वतीय गाइडसमेत रहनुभएको छ ।