काठमाडौं, साउन १६ । सिरहाको गोलबजारमा गोली लागेर ज्यान गुमाउनुभएका गणेश यादवका परिवारसँग नेपाल सरकारको सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग भएको छलफलपछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, क्षतिपूर्ति, रोजगारीलगायतका विषयमा सहमति भएको जानकारी दिनुभएको हो।
जिल्ला सुरक्षा समितिको बैठक सम्पन्न भएपछि गृहमन्त्री गुरुङ शुक्रबार राति सिरहाको औरही गाउँपालिका–२, तुलसीयाहीस्थित मृतक यादवको निवास पुगेर उहाँका बुबा, आमा तथा आफन्तसँग छलफल गर्नुभएको थियो। छलफलपछि दुवै पक्षबीच आठबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिअनुसार मृतक गणेश यादवलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।
यस्तै, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख छ।
मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई कानुनबमोजिम कार्यान्वयन प्रक्रिया अघि बढाइने पनि सहमतिमा समेटिएको छ।
त्यसैगरी, मृतकको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने, आवासकाे उचित व्यवस्थापन गर्ने, मृतकका बुबा र आमाको निःशुल्क उपचारको व्यवस्था गर्ने तथा परिवारका सदस्यको शिक्षा र आवश्यक सहयोग सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री गुरुङले बताउनुभयो।
उहाँले गोलबजार घटनाको अनुसन्धानमा कुनै पनि प्रकारको कमजोरी हुन नदिइने र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन भइरहेका बेला साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। उक्त घटनापछि उत्पन्न तनाव समाधान, पीडित परिवारलाई न्याय दिलाउने र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सरकार र मृतकका परिवारबीच आठबुँदे सहमति गरिएको हो।













प्रतिक्रिया दिनुहोस्