काठमाडौं, साउन १७ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आइतबार बिहान ६:२० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सात सडक पूर्ण रूपमा अवरुद्ध रहेको, दुई सडकमा एकतर्फी मात्र सञ्चालन भइरहेको तथा बाढीको जोखिमका कारण दुई प्रमुख राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।
प्रहरीका अनुसार कोशी प्रदेशको इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा अत्यधिक वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। भोजपुर नगरपालिका–५ स्थित मध्यपहाडी लोकमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
बागमती प्रदेशमा बाढी र पहिरोको जोखिम सबैभन्दा बढी देखिएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, मकवानपुरको कान्तिलोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिएको छ।
यसै प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिकाको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेपछि लामासाँघु–रामेछाप सडकखण्ड बन्द भएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले कटान गर्दा पासाङ ल्हामु सडकखण्ड अवरुद्ध भएको छ भने गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा बन्द भएको छ।
गण्डकी प्रदेशअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर सडकखण्डमा पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिठगाउँ खोलामा आएको बाढीका कारण भेरी करिडोर (जाजरकोट–डोल्पा) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा बाढी, पहिरो तथा सडक कटानको जोखिम अझै कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न सबैमा अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्