जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार १५:३२

चार महिनामै विपद्को कहर : १९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले गुमाए ज्यान


काठमाडौं,  साउन  १७। २०८३ वैशाखदेखि साउन १७ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा परी १ सय ९६ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर ४ हजार ५३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा १ हजार २ सय १८ जना घाइते भएका छन् भने ५ हजार १ सय ८८ परिवार प्रभावित बनेका छन्।

प्राधिकरणका अनुसार सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ। चार महिनामा सर्पदंशका ७ सय १६ घटनामा ५४ जनाको मृत्यु भएको छ भने ६ सय ६८ जना घाइते भएका छन्।

त्यस्तै, चट्याङबाट २५, लेक लागेर २२, पहिरो र आगलागीबाट २०–२०, जनावरको आक्रमणबाट १८, बाढीबाट १४ तथा हावाहुरीबाट १३ जनाको ज्यान गएको छ।

यता, पछिल्लो २४ घण्टामा मात्रै देशका विभिन्न स्थानमा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामा १ जनाको मृत्यु, २० जना घाइते तथा करिब २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।