जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार १४:१५

हिन्दु सम्राट सेना र सरकारबिच १९ बुँदे समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौं, साउन १७ । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हिन्दु सम्राट सेना नेपालबिच जनकपुरधाममा भएको वार्तापछि विभिन्न विषयमा समझदारी भएको छ। समझदारीसँगै हिन्दु सम्राट सेना नेपालले सञ्चालन गर्दै आएका आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ।

जनकपुरधामस्थित एक होटेलमा करिब डेढ घण्टा चलेको वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी प्रतिनिधिमण्डल र हिन्दु सम्राट सेना नेपालका पदाधिकारी सहभागी हुनुभएको थियो।

हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागपत्रमा थप ६ बुँदा समावेश गरी कुल १९ बुँदे प्रस्ताव सरकारसमक्ष पेश गरिएको छ। उहाँका अनुसार सरकारले ती मागलाई सकारात्मक रूपमा ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको छ।

उहाँले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने, उनीहरूमाथि कुनै मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीको घटनाबारे छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्ने विषयमा पनि सहमति भएको जानकारी दिनुभयो।

सरकारी पक्षबाट माग सम्बोधन गर्ने प्रतिबद्धता प्राप्त भएपछि हिन्दु सम्राट सेना नेपालले सबै प्रकारका आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाको सभाहलमा सरकारलाई बुझाइएको १३ बुँदे मागपत्र तथा आइतबार थप बुझाइएको ६ बुँदे मागपत्र गृहमन्त्री गुरुङले सरकारका तर्फबाट औपचारिक रूपमा ग्रहण गर्नुभएको जनाइएको छ। दुवै पक्षबीच संवाद र सहकार्यलाई निरन्तरता दिँदै समझदारी कार्यान्वयनतर्फ आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको बताइएको छ।