दिन ढल्दै गयो, रोमान्स बढदै गयो, साँझ पनि पत्तै नपाएर बिस्तारै रातमा बदलिन थाल्यो । दिनभरि रमाएर प्राप्त उर्जावान शरीरले पनि थाकेको अनुभूति हुनै नदिएर मनभित्र गज्जवको उत्साह भरिदियो
अञ्जू कार्की
जीवनमा केही दिन वा पल यस्ता पनि हुन्छन, जुन क्यालेन्डरका भित्तामा भन्दा पनि मनको डायरीमा सदाका लागि छापिएर बस्छन । हाम्रो पेप्सीकोलाको पुरानो सिनामंगलबाट सुरु भएको चोभार हिलसाइड यात्रा पनि त्यस्तै अविस्मरणीय बन्न पुग्यो । उमेर बढ्दै जाँदा जिम्मेवारी थपिन्छन्, तर साथीभाइसँग बिताएको एक दिनले फेरि बाल्यकालको निष्कपट हाँसो फर्काइदिन्छ भन्ने अनुभूति यस यात्राले गरायो ।
बिहानैदेखि उत्साहको सीमा थिएन । पंङ्तीकारसहित सीता, पवित्रा, साधना, सविना, इन्दिरा, बिनू, पुनम, रूपा, बबिता, शकुन्तला, राधा, अनिशा, कमला, कल्पना, रञ्जु, सरु, मन्दिरा थियौं यात्रामा । यति सबै जना निर्धारित समयमा भेटियौं । सबैको अनुहारमा चमकता छाएको थियो, मक्लिो अनुहारले सवैको मनभित्रको कौतुहलता र उत्साह नापिरहेको थियो । सवका मुहारमा हाँसो नै सबैभन्दा ठूलो सजावट बनेको थियो।
बिन्दाश बन्ने है त ! भन्दै पेप्सीकोलाबाट अघि बढेर चोभारतर्फ लाग्दा यात्रा केवल सडकमा मात्रै सिमित रहेन, सवका मनमनमा अविश्मरणीउ छाप छोडन सफल भयो । गाडीभित्र गीत, ठट्टा, पुराना घटना र रमाइला किस्साले यात्राको वातावरण झनै जीवन्त बनाइरहेको थियो । कहिले विद्यालयका दिन सम्झियौं, कहिले पुराना चाडपर्व, त कहिले एकअर्कालाई जिस्काउँदै हाँस्दा बाटो छोटो भएको पत्तै भएन । साँच्चै, रमाइलो यात्रा दूरीले होइन, मित्रहरूको आत्मीयताले मापन गरिन्छ ।
गाडी चोभारतर्फ अगाडि बढ्दै गर्दा हामी केहीबेर टौदहमा रोकियौं । बिहानको शान्त वातावरण, तालको निर्मल जल र वरिपरि फैलिएका हरियालीले सबैको मन लोभ्यायो । हामी गाडीबाट ओर्लियौं र तालको किनारमा पुगेर माछाहरूलाई दाना खुवायौं । दाना पानीमा छर्दै जाँदा सयौं माछाहरू एकैसाथ पानीको सतहमा उफ्रिँदै जम्मा भएको दृश्य अत्यन्त मनमोहक थियो । त्यसबेला हामी सवै साथीहरू बालबालिकाझैँ रमाइरहेका थियौं । कसैले त्यो दृश्य क्यामेरामा कैद गरे, कसैले भिडियो बनाए त कसैले प्रकृतिको त्यो अनुपम क्षणलाई मनभरि सजाए ।
टौदहको शान्त वातावरणले यात्रालाई अझ रोमाञ्चक र अविस्मरणीय बनायो । केही समय त्यहाँ बिताएर हामी फेरि हाँस्दै, गफिदै चोभारको हिलसाइडतर्फ उक्लियौं । जहाँ अर्को रमाइलो अध्याय हाम्रो प्रतीक्षामा थियो । चोभारको हिलसाइड पुग्दा प्रकृतिले हामीलाई दिल खालेर स्वागत गरेजस्तो अनुभूति भयो । हरियाली डाँडा, चिसो हावा र वरिपरि फैलिएको सुन्दर दृश्यले मन नै ताजा बनाइदियो । शहरको व्यस्तता, घरको जिम्मेवारी र दैनिक तनाव केही समयका लागि कतै आराम गर्दै हराए । हामी सबैले प्रकृतिको काखमा बसेर गफ ग¥यौं, तस्बिर खिच्यौं र हरेक क्षणलाई सम्झनाको रूपमा कैद गर्यौं ।
बिहानको स्वादिलो ‘ब्रेकफास्ट’ले दिनलाई अझ ऊर्जावान बनायो । चियाको सुगन्धसँगै साथीहरूको हाँसो मिसिँदा जिब्रोमा अझ मिठास भरियो । खाना त जहाँ पनि खान सकिन्छ, तर आफ्ना साथीहरुसँग बसेर खाएको प्रत्येक गाँसको स्वादले छुट्टै मिठास दिन्छ भन्ने अनुभूति त्यहीँ भयो ।
दिन छिप्पिदै जाँदा हाम्रो मनोरञ्जनको मापन पनि चुलिँदै गयो । कसैले गीत सुरु गर्यौं, कसैले ताल मिलायौं, अनि केही बेरमै सबै नाच्न थाल्यौं। चोभारको खुला वातावरणमा हामीले दिल खोलेर नाच्यौं । त्यो नाच कुनै प्रतियोगिता थिएन, कुनै प्रदर्शन पनि थिएन, त्यो त मित्रताको उत्सव थियो । हाँसो, ताली र आफ्नै सुरिलो आवाजले वातावरण नै झन्कृत बनाइदियो । त्यहाँ उमेरको हिसाब थिएन, पदको परिचय थिएन, थियो त केवल एउटै परिचय थियो–मित्रता अनि हामी सबै असल साथी हौं भन्ने आत्मस्वीकृती ।
नाचगानमा रमाएर हामी केही पोखरीतर्फ पुग्यौं । पोखरीको शान्त पानीमा पौडी खेल्दाको रमाईलोको त अक्षरमा बर्णन गर्नै सकिन्न । केही साथीहरु पौडी नखेले पनि फोटो लिँदै बाहिर बसेर रमाएर मन आनन्दित बनाए । हामी पौडिनेदेखि हेर्नेसम्म सवैलाई चरम सुख दियो ।
समय बित्दै जाला, जिम्मेवारीहरू अझ बढ्दै जालान्, तर पेप्सीकोलाबाट सुरु भएको चोभार हिलसाइडको यो यात्रा, बिहानको ब्रेकफास्ट, प्रकृतिको सान्निध्य, माछा पोखरीको शान्त दृश्य, साथीहरूसँगको नाच, राति ८ बजेको सामूहिक डिनर र घर फर्कंदाको सन्तुष्ट मुस्कान भने हाम्रो जीवनको अमूल्य सम्झना बनेर सधैं रहिरहनेछ

पानीको सतहका दृश्यले जीवनका यस्ता साना क्षणहरू नै कहिलेकाहीँ सबैभन्दा ठूला खुशीका स्रोत बन्ने रहेछन् । हिलसाइडको प्रत्येक कुनामा हामीले तस्बिर कैद गर्यौं । एउटा तस्बिरमा सबैको मुस्कान, अर्कोमा ठट्टा, अर्कोमा सामूहिक हाँसो—यी सबै तस्बिरहरू केवल फोटो होइनन्, मित्रताको इतिहास बनेका छन । वर्षौंपछि यी तस्बिर हेर्दा त्यो क्षणको हाँसो फेरि कानमा गुञ्जिनेछ भन्ने विश्वास छ ।
यात्राको सबैभन्दा भावुक पक्ष भने साथीहरूको सम्झना थियो । पेप्सीकोलाका हाम्रा सारथीहरू तारा, सरला र गंगा यस यात्रामा हामीसँग हुन सक्नुभएन । तर उनीहरूको अनुपस्थितिले महत्व झन् बढाइदियो । सामुहिक फोटो खिच्दा, खाना खाँदा, नाच्दा र गफ गर्दा पटक–पटक हामीले उनीहरूलाई सम्झियौं । ‘आज त तारा पनि भएको भए !’, ‘सरला आएकी भए कति रमाइलो हुन्थ्यो !’, ‘गंगाको हाँसो मिसिएको भए त झन् सुनमा सुगन्ध हुन्थ्यो !’ …यस्तै वाक्यहरू दिनभरि दोहोरिइरहे । अनुपस्थित भएर पनि उनीहरू हाम्रो हरेक क्षणमा उपस्थित थिए ।
साँझ बिस्तारै रातमा बदलिन थाल्यो । दिनभरि रमाएर थकित शरीर भए पनि मन भने अझै उत्साहित थियो। राति करिब ८ बजे सबै जना एकै ठाउँमा बसेर डिनर गर्यौं । त्यो भोजन केवल पेट भर्ने माध्यम थिएन, दिनभरिका रमाइला क्षणहरूलाई एकअर्कासँग बाँड्ने अन्तिम अवसर पनि थियो। कसैले दिनभरिका ठट्टा दोहोर्यायौं, कसैले तस्बिरहरू हेरेयौं, कसैले अर्को घुमघामको योजना बनाउन थाल्यौं, हाँसो र आत्मीयताले भरिएको त्यो डिनरले दिनलाई अझ पूर्ण बनाइदियो ।

फर्किने बेला गाडी अगाडि बढिरह्यो, तर मन भने चोभारको हिलसाइडमै अड्किरहेको थियो । झ्यालबाट बाहिर हेर्दै हामी सबैले आ–आफ्नै तरिकाले त्यो दिनलाई मनमा सँगालिरहेका थियौं । कसैले मोबाइलमा फोटो हेर्दै मुस्कुराइरहेको थियौं, कसैले दिनभरिका रमाइला संवाद सम्झिरहेको थियौं । जीवनको वास्तविक सम्पत्ति धन वा वैभव मात्र होइन, यस्ता आत्मीय सम्बन्ध र सँगै बाँडिएका खुशीका पलहरू पनि हुन्।
समय बित्दै जाला, जिम्मेवारीहरू अझ बढ्दै जालान्, तर पेप्सीकोलाबाट सुरु भएको चोभार हिलसाइडको यो यात्रा, बिहानको ब्रेकफास्ट, प्रकृतिको सान्निध्य, माछा पोखरीको शान्त दृश्य, साथीहरूसँगको नाच, राति ८ बजेको सामूहिक डिनर र घर फर्कंदाको सन्तुष्ट मुस्कान भने हाम्रो जीवनको अमूल्य सम्झना बनेर सधैं रहिरहनेछ । हामीबीचको मित्रता यस्तै अटल रहोस । तारा, सरला र गंगा अर्को यात्रामा अवश्य सँगै होऊन्। फेरि कुनै दिन, फेरि यस्तै एउटा बिहान, फेरि एउटा यात्रा र फेरि यस्तै मनैदेखि हाँस्ने अवसर मिलोस ।

(पत्रकार तथा समाजशास्त्री अञ्जू कार्कीको रोमाञ्चकारी यात्रा संस्मरण)













प्रतिक्रिया दिनुहोस्