काठमाडौं, साउन १७ । सुनसरीबाट सुरु भएको तनाव तराई मधेशमा फैलिरहेको बेला सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेदेखि धर्मको नाममा गृहमन्त्रीसँग सहमति गर्नेसम्मका सवै रास्वपाकै कार्यकर्ता रहेको तथ्य खुलेको छ ।
गत निर्वाचनमा खटिएका कार्यकर्ता र चितवन महाधिवेशनमा उम्मेद्वार बनेका ब्यक्तिहरूको पहिचान खुलेसँगै सुनसरी घटनादेखि तराईमा हिंसा मच्चाउने काममा रास्वपाकै कार्यकर्ता लागिपरेको तथ्य उजागर भएको हो । जनकपुरमा शनिवार गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाका नाममा मागपत्र बुझाएर फोटो सेशन गरियो । सोही मागपत्रका आधारमा उनीहरूसँग सहमति गरिएको छ ।
मागपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि असिम साहलाई प्रधानमन्त्रीको सल्लाहकारबाट हटाउनेसम्मका माग छन् । यसरी मागपत्र प्रस्तुत गर्ने मुख्य व्यक्ति रास्वपाकै स्थानीय नेता शनी भगत रहेको खुलेको छ । भगत जनकपुर उपमहानगरपालिका वडा ८ का रास्वपा वडासभापति पदमा रहनुभएको छ । भगतको नेतृत्वमा मागपत्र बुझाइएको थियो ।

भगतले हिन्दु सम्राट सेनाको प्रतिनिधि भनेर मागपत्रमा पहिलो नम्बरमै हस्ताक्षर गर्नुभएको छ । भगतको पोल खुलेसँगै रविसँगको बार्तामा बस्ने रास्वपा नेताको पनि पोल खुलेको हो ।
सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा साम्प्रदायिक तनाव उत्कर्षमा पुगेका बेला रास्वपाका सभापति लामिछानेले संवाद र समन्वयको पहल अघि बढाएलगत्तै धार्मिक गुरु बनेर पुगेका ब्यक्ति त सोही पार्टीका नेता नै रहेको पाइएको छ ।
गृहमन्त्री सुधन गुरुङ सुनसरी र मोरङको गोप्य भ्रमण सकाएर काठमाडौं फर्कैलगत्तै घटेको सुनसरी घटनाबारे चुपचाप गुप्तवास बसेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) कर्तब्यच्यूत बनेपछि रविले पहलकदमी लिनुभएको थियो । उहाँको भूमिकाको सवैले खुलेर प्रशंसा गरे ।
यही क्रममा लामिछानेले हिन्दू र मुस्लिम धर्मगुरुलाई सँगै राखेर वार्ता गर्नुभयो भने एकसाथ हात मिलाएको तस्विरसहित धार्मिक सदभाव र एकताको सन्देश प्रवाह गर्नुभयो । रविको पहलमा भएको सो बार्ता फलदायी बनेको सन्देश दिन दुवैतर्फका अगूवाहरुले हात मिलाएर सौहार्दता प्रदर्शन गरियो ।

वार्तापछि हिन्दू र मुस्लिम समुदायका तर्फबाट भन्दै संयुक्त अपिल जारी भयो । शनिवार जनकपुरमा हिंसा मच्चाउने रास्वपाकै कार्यकर्तासँग बार्ता गरेर गृहमन्त्री सुधन गुरुङले सहमति गरेपछि भने सुनसरीदेखि तराई मधेशमा हिंसा मच्चाउन रास्वपाकै कार्यकर्ताहरू योजनावद्ध रुपमा लागेको र हिन्दी फिल्मको दृष्य जसरी नाटकवाज गरेको प्रष्ट तस्वर बाहिर आएको हो ।
जनकपुर घटनापछि रवि लामिछानेसँगको संवादमा संलग्न हिन्दु अगूवा रास्वपाकै नेता रहेको खुलेको छ । रविसँगै बसेर हिन्दु अगुवा बन्ने ब्यक्ति चितवन महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार रहेका राजुराज फुँयाल रहेको तथ्य बाहिर आयो ।

रास्वपाको चितवन महाधिवेशनमा फुयाल केन्द्रीय सदस्यमा पराजित भएका थिए । महाधिवेशनअघि फुयाल रास्वपाको स्टार्टअप विभागमा हुनुहुन्थ्यो । फुयाँल विभाजित विश्वहिन्दू महासंघमा पनि आवद्ध रहेको पाइएको छ । रविसँगको बार्तामा फुयाल महासंघका तर्फबाट महासचिव रामचन्द्र तिवारीलाई साथमा लिएर बार्ताको नाटक मञ्चन गर्न जानुभएको थियो ।
यसैगरी तराईमा हिंसा बढाउन निर्दाेषलाई सडकमा पठाउने काममा पनि रास्वपाकै कार्यकर्ताहरू सहभागी भएको बिभिन्न जिल्लाबाट प्राप्त सूचनाले देखाएको छ । यसरी रास्वपाले आफै घटना घटाएर जनतालाई आतंकित पार्ने र आफै बसेर सहमतिको नाटक गरेको तथ्य बाहिर आएको हो ।













प्रतिक्रिया दिनुहोस्