जनता टाइम्स

१७ श्रावण २०८३, आईतवार १८:०१

अवैध लागूऔषध कारोवारी खोज्न एअरपोर्टदेखि गेष्ट हाउससम्म प्रहरीको छापा, २७ जना पक्राउ


काठमाडौं, साउन १७ । नेपाल प्रहरीले अबैध लागूऔषध कारोवारी खोजीको क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलदेखि गेष्टहाउससम्म छापा मारेर २७ जना कारोवारीलाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा यति धेरै संख्यामा लागूऔषध कारोवारी पक्राउ परेका हुन । पक्राउ पर्नेमा बिदेशी नागरिकसमेत रहेका छन ।

प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ११ किलोग्राम सहित ३ जनालाई शनिबार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत लुदियाना पन्जाव घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र भारत कैरू हरियाणा घर भएका २२ वर्षीय साहिल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरवेजको उडानद्वारा थाइल्याण्डबाट नेपाल आएका उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको मित्रनगर बुद्धमार्गस्थित बाग्लुङ चिनारी गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्रामसहित काठमाडौं बालाजु बस्ने पाँचथर निवासी ३२ वर्षीय मिलन लिम्बुसमेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरी नगरपलिका २ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्रामसहित सिराहा घर भएका २४ वर्षीय समिर लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१९००६ ख ५५२४ नम्बरको बसमा सवार लामालाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध रिसिभ गर्न आउने सिराहा घर भएका २८ वर्षीय जिवन लामालाई नागार्जुन नगरपालिका १४ बाट पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन ९ एम्पुल र बुप्रेनोफिन ९ एम्पुलसहित ललितपुर गोदावारी बस्ने दोलखा घर भएका ३८ वर्षीय राजकुमार ओलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी रामेछापको मन्थली नगरपालिका २ टेकनपुर बस्ने ४५ वर्षीय रामकुमार श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ७ सय ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यस्तै बाँकेको कोहलपुर नगरपालिका ११ नयाँ बसपार्कस्थित होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका १३ घर भएका ३२ वर्षीय रूप सिंह गाइन समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी नेपालगंज उपमहानगरपालिका १९ कटलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३८ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश बर्मा समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका ५ पाहाडीपुर बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका ९ सेहरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय ६० मिलिग्राम र नगद ३५ हजार ३ सय रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दिपक चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी धनगढी उपमहानगरपालिका १० घुँईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७१ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय सञ्जय रानलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै सप्तरीको सुरूङ्गा नगरपालिका ४ पन्सेराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय राजेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका १ चाईना गेट बस्ने २८ वर्षीय भीमसेन राजथला समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश ०३९००१ प ४९८६ नम्बर र ना.४४ प ४७८६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४ पानधारे चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय अनिश लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै नवलपरासी पूर्वको कावासोती नगरपालिका ३ पुरानो कावासोतीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६७ एम्पुल, प्रोमेथाजाइन ७१ एम्पुल र बुप्रेनोर्फिन ७८ एम्पुल सहित हुप्सेकोट गाउँपालिका ६ बस्ने ३५ वर्षीय दुर्गा बहादुर सारू मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व समेतबाट खटिएको प्रहरीले डण्डाबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र ०४९००२ प २२३९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिका ५ कालिका टोल बस्ने ३० वर्षीय प्रकाश कँडेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ६ सय ५० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यी सवै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।