काठमाडौं, साउन १८ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।
हाल काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा जारी रहेको विभागले जनाएको छ।
आज दिउँसो बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्