काठमाडौं, साउन १८ । ग्रीसमा डढेलो निभाउन प्रयोग भएका दुई हेलिकप्टर आकाशमै ठोक्किएका छन् । यो घटनामा दुई चालक दलका सदस्यको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक डेनिस पाइलट र एक ग्रीक अग्नि सेवाका सम्पर्क अधिकारी रहेका छन् ।
दोस्रो हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र अर्का ग्रीक संयोजकको जीवितै उद्धार गरिएको बीबीसीले जनाएको छ । ग्रीसको राजधानी एथेन्सबाट झण्डै ६५ किलोमिटर पश्चिममा भएको घटनाको भिडियोमा दुई वटा हेलिकप्टर ठोक्किएको देखिन्छ ।
एउटा हेलिकप्टर खोल्सामा दुर्घटनाग्रस्त हुँदा अर्को हेलिकप्टर आपतकालीन अवतरण गरेको छ । अरु विवरण आउन बाँकी छ । डढेलोका कारण ग्रीसमा एक सयभन्दा धेरै घरमा क्षति भएको छ । विभिन्न क्षेत्रबाट बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।
कोरिन्थको खाडीस्थित पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको अर्को डढेलो नियन्त्रणका लागि झण्डै पाँच सय अग्नि नियन्त्रक परिचालन गरिएको छ । फ्रान्स र रोमानियाबाट समेत थप उद्धार टोली ग्रीस पुगेका छन् । ग्रीस, फ्रान्स, स्पेनलगायतका देश अहिले डढेलोसँग जुधिरहेका छन् ।













प्रतिक्रिया दिनुहोस्