जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १३:३१

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक  जोखिमपूर्ण यात्रा


काठमाडौं साउन १८। काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लातर्फ जाने हजारौँ यात्रुका लागि बिपी राजमार्ग अहिले गन्तव्यमा पुग्ने बाटोभन्दा पनि जोखिमसँगको सङ्घर्ष बनेको छ।

अत्यधिक सवारीचाप, तीन वर्षअघि आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको सडकको पुनर्निर्माण अझै पूरा नहुनु तथा रोशी खोला र त्यसका सहायक खोलाहरूमा आउने आकस्मिक बाढीका कारण हरेक यात्रा त्रास र अनिश्चितताले भरिएको छ।

काठमाडौं, काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभालगायत पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा तथा धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने यो छोटो र महत्वपूर्ण राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु अहिले ज्यानको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

तीन वर्षअघि रोशी खोलामा आएको भीषण बाढीले सडकका विभिन्न खण्ड बगाएपछि खोलाकै किनार हुँदै बनाइएकाे अस्थायी सडक आजसम्म यात्रुको सहारा बनेका छन्। माथिबाट खस्ने लेदो, हिलो र पहिरोको उच्च जोखिमबीच सडक सञ्चालन भइरहेका छन्। यात्राको प्रत्येक मोडमा सडक भासिने, पहिरो झर्ने वा बाढीले बाटो बगाउने डरले यात्रु र चालक दुवै त्रसित रहने गरेका छन्।

सवारी चालकहरूका अनुसार वर्षा सुरु भएसँगै रोशी खोला र सहायक खोलाहरूमा आउने आकस्मिक बाढीले जुनसुकै बेला सडक बगाउन र अवरुद्ध बनाउन सक्छ। यही जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पानीको सतह बढ्नेबित्तिकै सवारी आवागमन रोक्ने गरेको छ। कतिपय दिनमा तीनदेखि चार पटकसम्म यातायात अवरुद्ध हुँदा सयौं यात्रु घण्टौँसम्म बीच बाटोमै अलपत्र पर्न बाध्य हुने गरेका छन्। बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा अत्यावश्यक काममा हिँडेका सर्वसाधारणले सबैभन्दा बढी सास्ती भोगिरहेका छन्।

स्थानीयका अनुसार रोशीका सहायक खोलाहरूमा आउने बाढीले विशेषगरी मोटरसाइकल र अन्य दुईपाङ्ग्रे सवारी बगाउने घटना पटक–पटक दोहोरिने गरेको छ। यसले यात्रुको सुरक्षाप्रति गम्भीर चिन्ता थपिएको छ भने हरेक वर्षायाममा बिपी राजमार्ग प्रयोग गर्नेहरू त्रासका बीच यात्रा गर्न विवश छन्।

यस वर्ष वर्षायामअघि नयाँ ट्र्याकबाट सवारी सञ्चालन गर्ने योजना सार्वजनिक गरिए पनि केही सीमित स्थानबाहेक अधिकांश क्षेत्रमा अझै अस्थायी सडककै भरमा यातायात सञ्चालन भइरहेका छन्। पुनर्निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा हजारौँ यात्रुले सुरक्षित यात्रा गर्ने आधार अझै पाएका छैनन्। समयमै सडक पुनर्निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले प्रभावकारी पहल नगरेसम्म बिपी राजमार्गमा यात्रा गर्ने प्रत्येक यात्रुले जोखिम र अनिश्चिततालाई सँगै बोकेर यात्रा गर्नुपर्ने अवस्था कायमै रहने देखिएको छ।