काठमाडौं, भदौ ३० । सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिई सरकारी कार्यालय, बैङ्क तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने तथा दबाब र धाकधम्की दिने गरेको आरोपमा प्रहरीले झापामा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा हाल्दिबारी गाउँपालिका–१ बस्ने २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै विभिन्न ठाउँमा परिचय दिने गरेको आरोप छ । उनले सोही परिचयको दुरुपयोग गरी सरकारी कार्यालय, बैङ्क तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने र दबाब तथा धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिले कसैलाई झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन अनुरोधसमेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्