जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार ११:५६

देशलाई पुनर्जागरण चाहिएको छ, त्यसको नेतृत्व एमालेले गर्छ : केपी ओली


एमाले अध्यक्ष ओलीकाे चेतावनी– संविधान र लोकतन्त्रमाथि प्रहार गरेर सत्ता परिवर्तन गरिएको हो, भदौ २३ र २४ को विध्वंसलाई लोकतान्त्रिक आन्दोलन मान्न सकिँदैन

काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई अहिले पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व एमालेले गर्ने दाबी गर्नुभएको छ । पार्टीको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले मुलुकको राजनीतिक, संवैधानिक र लोकतान्त्रिक प्रणालीमाथि विभिन्न कोणबाट चुनौती उत्पन्न भइरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले देशको राजनीति मौसमअनुसार देखा पर्ने छिचिमिराहरूको अभिव्यक्तिले निर्धारण नहुने टिप्पणी गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको संरक्षणका लागि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । ‘देशलाई अब पुनर्जागरण चाहिएको छ, पुनर्जागरणको नेतृत्व एमालेले गर्दछ,’ उहाँले भन्नुभयो ।

उहाँले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै नेपालमा संविधान र लोकतन्त्र मिचिएको बताउनुभयो । राजनीतिक दलहरूलाई अस्वीकार गर्ने, भिडतन्त्रका माध्यमबाट राज्य सञ्चालन गर्न खोज्ने र लोकप्रियतावादी अराजकतालाई प्रोत्साहन गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो । ‘बलजफ्ती लादिएको शासनलाई लोकतान्त्रिक शासन मान्न सकिँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालमा संविधान मिचिएको, लोकतन्त्र मिचिएको अवस्था छ । दलहरूलाई अस्वीकार गर्ने र भिडतन्त्रबाट राज्य चलाउन खोज्ने प्रवृत्ति देखिएको छ ।’

एमाले कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने पार्टी नभएको दाबी गर्दै उहाँले पार्टीको राजनीतिक चरित्र र उद्देश्यबारे पनि प्रस्ट पार्नुभयो । एमालेले पद, टिकट र जिम्मेवारीलाई आर्थिक लाभ वा पहुँचका आधारमा वितरण नगर्ने उल्लेख गर्दै उहाँले पार्टीलाई सामाजिक परिवर्तनको आन्दोलनका रूपमा व्याख्या गर्नुभयो । ‘हाम्रो पार्टी टिकट बेचुवा पार्टी होइन, कुनै अवाञ्छित किसिमले लाभ वा जिम्मेवारीमा पुग्न दिने पार्टी होइन,’ उहाँले भन्नुभयो, ‘यो पार्टी समाजको परिवर्तनका लागि काम गर्ने पार्टी हो ।’

अध्यक्ष ओलीले एमाले जनताको बहुदलीय जनवादबाट निर्देशित भएर अघि बढ्ने बताउँदै त्यसलाई समय र परिस्थितिअनुसार सिर्जनात्मक ढंगले कार्यान्वयन गरिने उल्लेख गर्नुभयो । पार्टीले आफ्नो वैचारिक आधारलाई जडसूत्रवादी रूपमा नभई रचनात्मक ढंगले अघि बढाउने उहाँको भनाइ थियो । ‘हाम्रो आन्दोलनको अभ्यास र समय तथा परिस्थितिको उपजका रूपमा आएको जनताको बहुदलीय जनवादबाट निर्देशित भएर हामी अगाडि बढ्छौँ । त्यसमा पनि जडसूत्रवादी भएर होइन, अत्यन्त रचनात्मक ढंगले अघि बढ्छौँ,’ उहाँले भन्नुभयो ।

एमाले अग्रगामी पार्टी भएको उल्लेख गर्दै उहाँले नेतृत्व विकासमा अनुभव, क्षमता, योगदान र कामलाई प्राथमिकता दिइने बताउनुभयो । युवालाई पार्टीमा प्राथमिकताका साथ अघि बढाइने भए पनि उमेरकै आधारमा नेतृत्वमा स्थापित गर्ने परिपाटी पार्टीमा नरहेको उहाँको भनाइ थियो । ‘हाम्रो पार्टीमा भवितव्यले अध्यक्ष, उपाध्यक्ष, वरिष्ठ नेता, महासचिव वा सदस्य भइँदैन,’ उहाँले भन्नुभयो, ‘हामी युवालाई प्राथमिकताका साथ अगाडि बढाउँछौँ । तर उमेर पुग्दैमा टुप्पामा राख्ने कुरा यहाँ चल्दैन । यहाँ सिक्नुपर्छ, काम गर्नुपर्छ ।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सडक आन्दोलन र हिंसात्मक गतिविधिबीच स्पष्ट भिन्नता रहेको जिकिर गर्नुभयो । जनताले आफ्ना माग र आवाज सुनाउन शान्तिपूर्ण रूपमा सडकमा प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार भए पनि योजनाबद्ध रूपमा गरिने आगजनी, तोडफोड र हिंसालाई जनताको शान्तिपूर्ण आन्दोलनका रूपमा स्वीकार गर्न नसकिने उहाँले बताउनुभयो ।

‘जनताले आफ्ना आवाज सुनाउन र मनाउन सडकमा जान्छन् । मानिएन भने शक्ति प्रदर्शन गर्न पनि सडकमा जान्छन् । जनताको प्रदर्शन शान्तिपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर बाह्य शक्तिबाट पालितपोषित, तालिम दिइएका, अराइएका र खटाइएकाहरूले योजनाबद्ध रूपमा लगाएको आगोलाई जनताको शान्तिपूर्ण आन्दोलन भन्न सकिँदैन ।’

भदौ २३ र २४ गते भएका घटनालाई लक्षित गर्दै उहाँले ती गतिविधि लोकतान्त्रिक आन्दोलनको परिभाषाभित्र नपर्ने दाबी गर्नुभयो । एमालेले त्यस्ता घटनालाई विगतमा पनि अस्वीकार गरेको र आगामी दिनमा समेत स्वीकार नगर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार असंवैधानिक ढंगले अपदस्त गरिएको बताउनुभयो । तोडफोड, आगजनी, लुटपाट र लोकतान्त्रिक संरचनामाथिको आक्रमणपछि सत्ता परिवर्तन गरिएको उहाँको दाबी थियो । ‘हामीले धक्का खाएका छौँ । हामी असंवैधानिक ढंगले अपदस्त पारिएका छौँ,’ उहाँले भन्नुभयो, ‘तोडफोड, आगजनी, लुटपाट गरेर, लोकतान्त्रिक संरचना ध्वस्त पारेर हामीलाई अपदस्त गरिएको हो ।’

प्रतिनिधिसभा भवनमाथिको आक्रमणलाई उहाँले लोकतान्त्रिक प्रणालीमाथिको प्रहारका रूपमा व्याख्या गर्नुभयो । जनप्रतिनिधित्वको प्रणाली सञ्चालन हुने प्रमुख संस्थामाथि आक्रमण गरेर प्रतिगमनको प्रक्रिया सुरु गरिएको उहाँको आरोप थियो ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामलाई लिएर पनि अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले एमालेको पछिल्लो राजनीतिक धक्कालाई निर्वाचनमा भएको पराजयसँग मात्र जोडेर हेर्न नहुने बताउनुभयो । स्वच्छ र निष्पक्ष निर्वाचनमा हारजित स्वाभाविक हुने उल्लेख गर्दै उहाँले निर्वाचन परिणाम स्वीकार गर्ने लोकतान्त्रिक संस्कार आवश्यक रहेको बताउनुभयो । ‘स्वच्छ निर्वाचन हुँदा जसले जिते पनि बधाई दिनुपर्छ,’ उहाँले भन्नुभयो । तर फागुन २१ गतेको निर्वाचन हिंसा र आतंकपूर्ण गतिविधिबाट सत्ता परिवर्तन गरेर त्यसलाई वैधता दिन गरिएको नाटक भएको उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले एमालेविरुद्ध भइरहेको राजनीतिक घेराबन्दीलाई सही ढंगले बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशलाई अस्थिरतातर्फ धकेल्ने उद्देश्यले पछिल्ला राजनीतिक गतिविधि भइरहेको दाबी गर्दै उहाँले राजनीतिक घटनाक्रमको सही विश्लेषण गर्न नसकिए परिस्थितिको यथार्थ मूल्यांकन गर्न नसकिने बताउनुभयो । ‘हामीविरुद्धको घेराबन्दी बुझ्न सकेनौँ भने स्थितिको सही विश्लेषण हुँदैन,’ उहाँले भन्नुभयो, ‘देशलाई अस्थिरतामा लैजानका लागि अहिलेका गतिविधि भएका हुन् । नेपाललाई स्थिरता दिने भए भनेर प्रतिक्रियावादीहरू आत्तिए ।’

संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने प्रयास सफल नभएपछि भदौ २३ र २४ गतेका घटना गराइएको उहाँको जिकिर थियो । लोकतान्त्रिक प्रणाली र संविधानलाई ढाल्न तथा फाल्न नसकिने देखेपछि आतंकपूर्ण विध्वंस मच्चाइएको उहाँकाे भनाइ छ । ‘लोकतान्त्रिक प्रणाली र संविधान ढाल्न र फाल्न नसकिने देखेपछि भदौ २३ र २४ गते आतंकपूर्ण विध्वंस मच्चाइयो,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले उक्त घटनालाई लोकतान्त्रिक व्यवस्थाभित्र स्वीकार्य विषयका रूपमा लिन नसकिने स्पष्ट पार्नुभयो । एमालेले संविधान, लोकतान्त्रिक प्रणाली र राजनीतिक स्थायित्वको पक्षमा आफ्नो राजनीतिक संघर्ष जारी राख्ने संकेत गर्दै उहाँले भन्नुभयो, ‘यसलाई हिजो पनि स्वीकारेनौँ, आज पनि स्वीकार्दैनौँ र भविष्यमा पनि स्वीकार्ने छैनौँ ।’

राष्ट्रिय भेलामा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको धारणामा पार्टीको वैचारिक दिशा, नेतृत्व विकास, पछिल्लो राजनीतिक घटनाक्रम, संविधानको रक्षा र एमालेविरुद्ध भएको भनिएको राजनीतिक घेराबन्दी मुख्य रूपमा समेटिएका छन् । उहाँले पार्टीलाई पुनः राजनीतिक रूपमा सक्रिय र संगठित बनाउँदै मुलुकको पुनर्जागरण अभियानको नेतृत्व गर्ने दाबीसमेत गर्नुभएको छ ।