काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सोमबार बिहान नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
यसअघि राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो । उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित हुनुहुन्थ्यो ।
राजघाटमा माल्यार्पणपछि प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेख्दै महात्मा गान्धीका आदर्शप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले करुणा नै सर्वोच्च शक्ति र निःस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गर्नुभएको छ ।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गान्धीको विरासतमा आफूले अमर ज्योति देखेको बताउनुभएको छ । उहाँले पुस्तिकामा लेख्नुभएको छ, ‘यस पवित्र भूमिमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले विश्वसामु सत्यमा यस्तो शक्ति हुन्छ, जसको तुलना अन्य कुनै बलसँग हुन सक्दैन भन्ने प्रमाणित गर्यो ।’
प्रधानमन्त्री शाहले समाजका सबैभन्दा कमजोर वर्गको निःस्वार्थ सेवामा नै साँचो नेतृत्व निहित रहेको धारणा पनि व्यक्त गर्नुभएको छ ।
Aत्यसैगरी, नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले जोडिएको उहाँले उल्लेख गर्नुभएको छ ।
महात्मा गान्धीका कालजयी आदर्शप्रति सम्मान व्यक्त गर्दै प्रधानमन्त्री शाहले इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका आधारमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पनि दोहोर्याउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्