जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०८:१७

हेटौँडाको होटलमा आगलागी, सञ्चालक र दमकल कर्मचारी घाइते, ४३ लाखको क्षति


काठमाडौँ, मङ्सिर ९ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको एक होटलमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

आशिष गौतमले सञ्चालन गर्दै आएको द डोर्स होटलमा राति साढे ११ बजे आगलागी भएको हो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ वर्षीय नवीन नेपाल सामान्य घाइते भएका छन् ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा राति १२ः२० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट होटलको भान्साकोठा र हलमा क्षति पुगेको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार घटनामा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।