काठमाडौँ, मङ्सिर ९ । आज नोभेम्बर २५ अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले महिला हिंसालाई गम्भीर मानव अधिकार उल्लङ्घनका रूपमा लिँदै यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घीय लागूऔषध तथा अपराध कार्यालय र राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो तथ्याङ्कअनुसार दैनिक औसत १३७ जना अर्थात् प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या हुने गरेको छ ।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसा लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको औँल्याएको छ ।
महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कानुनी तथा नीतिगत प्रयास हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
सन् १९८१ देखि महिला अधिकारकर्मीले नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २५ लाई अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।
यसै दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सुरु भएको छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्नेछ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा विश्वव्यापी समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयास तीव्र बनाउन आह्वान गर्नुभएको छ ।
उहाँले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय उपलब्ध गराउन तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्