काठमाडौँ, मङ्सिर ९ । काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई सरकारले शनिबारसम्म स्थान खाली गर्न निर्देशन दिएको छ ।
बुधबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बस्दै आएका परिवारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको टोलीले सूचना टाँस्दै होल्डिङ सेन्टर खाली गर्न भनेको हो ।
प्रशासनले टाँसेको सूचनाअनुसार त्यहाँ बस्दै आएका सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको विवरण प्राप्त भएको छ । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार उनीहरू भूमिहीन नरहने भएकाले होल्डिङ सेन्टर खाली गर्न भनिएको छ ।
त्यस्तै, जग्गा नभएका १२ परिवारका हकमा सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको र त्यसको निस्सा लिन प्रशासनले आग्रह गरेको छ । उनीहरूलाई सरकारले उपलब्ध गराएको घरभाडा खर्चसमेत बुझिलिन सूचनामा उल्लेख छ ।
उक्त होल्डिङ सेन्टरमा हाल ५९ जना बस्दै आएका छन् । तर, त्यहाँ रहेका केहीले भने सरकारी निर्देशन अस्वीकार गरेका छन् ।
होल्डिङ सेन्टरमा बस्दै आएका सञ्जय चौधरीले आफूहरूलाई पुरानै बस्ती आसपासमा जग्गा उपलब्ध गराउनुपर्ने वा जहाँबाट ल्याइएको हो त्यहीँ फर्काउनुपर्ने माग गर्नुभएको छ । आफूहरूले घरभाडा सुविधा पनि नलिने र सूचना टाँस्दैमा स्थान खाली नगर्ने उहाँले बताउनुभयो ।
सरकारले भने जग्गा भएका परिवारलाई होल्डिङ सेन्टर छाड्न र जग्गा नभएका परिवारलाई सम्बन्धित पालिकाबाट जग्गा उपलब्ध गराउने प्रक्रियाको निस्सा लिन आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्