जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १७:४३

खगेन्द्र सुनारविरुद्धको मुद्दामा प्रमाणबारे जानकारी गराएर कागज पेस गर्न अदालतको आदेश


काठमाडौँ, मङ्सिर ९ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारविरुद्धको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा प्रमाण बुझेको कागज पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले निवेदकले पेस गरेका प्रमाणबारे सुनारलाई जानकारी गराई त्यससम्बन्धी कागज अदालतमा पेस गर्न बुधबार आदेश दिएको हो ।

रिट निवेदक मनीषा गौतमले यसअघि अदालतमा तीन घण्टा लामो अडियो प्रमाणका रूपमा पेनड्राइभमा पेस गरेको बताउनुभएको छ । तर, पछि बुझ्दा अदालतका कर्मचारीले पेनड्राइभमा तीन मिनेटको मात्रै अडियो रहेको बताएपछि आफूले पुनः अडियोसहित निवेदन दिएको उहाँले बताउनुभयो ।

सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले पेस गरिएका प्रमाणबारे आरोपित सुनारलाई जानकारी गराउन आदेश दिएको गौतमले बताउनुभयो ।

यसअघि अदालतको अवहेलना तथा सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा सुनारसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।