रामेछाप, मंसिर ९ । लैङ्गिक हिंसा अन्त्य, पीडितको संरक्षण र न्याय सुनिश्चितताको सन्देश सहित रामेछापमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन मंगलबार सदरमुकाम मन्थलीमा सचेतनामूलक प्रभातफेरी आयोजना गरिएको छ ।
मन्थली नगरपालिकाको आयोजनामा भएको प्रभातफेरी मन्थली बजार हुँदै बसपार्क पुगेर पुनः नगरपालिकाको कार्यालयमा आई कोणसभामा परिणत भएको थियो । प्रभातफेरीमार्फत लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य तथा न्यायको सुनिश्चितताकाे सचेतना फलाउने प्लेकार्ड प्रदर्शन गरिएकाे थियो ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतका जनप्रतिनिधि, रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारलगायत सरकारी कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, व्यवसायीको सहभागिता रहेको थियो ।
प्रभातफेरीपछि नगरपालिकाको कार्यालयमा आयोजित कोणसभामा वक्ताहरूले समाजमा विद्यमान लैङ्गिक हिंसाको अवस्था, हिंसा न्यूनीकरणका लागि भइरहेका प्रयास तथा पीडितलाई न्याय दिलाउन अपनाउनुपर्ने उपायबारे धारणा राख्नु भएकाे थियाे । उहाँहरुले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै यसको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभएकाे थियाे ।

दिवसकाे अवसरमा साँझ देवकाेटा चाेकमा दीप प्रज्वलन गरिएकाे थियाे ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । अभियानको पहिलो दिन नोभेम्बर २५ मा महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस र अन्तिम दिन डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । बिचमा विभिन्न दिवसहरू मनाउने गरिन्छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा अनुमोदन गरेपछि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालिएको हो । नेपालमा पनि हरेक वर्ष विभिन्न सचेतनामूलक कार्यक्रमसहित यो अभियान सञ्चालन हुँदै आएको छ ।













प्रतिक्रिया दिनुहोस्