जनता टाइम्स

९ मंसिर २०८३, बुधबार १७:५५

महिला क्रिकेटमा कोशीको पहिलो जित, कर्णाली ४९ रनले पराजित


सुर्खेत, मङ्सिर ९ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा कोशी प्रदेशले पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुबिना क्षेत्रीको ६२ रनको मद्दतमा निर्धारित खेलमा १२५ रन बनाएको थियो। रुबिनाले ५७ बलमा एक छक्का र नौ चौका प्रहार गरिन्। कोशीका काजोल श्रेष्ठले १४, खुसी राजवंशीले १० र लकिता राजवंशीले नौ रन बनाए।

१२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमै अलआउट भयो। कर्णालीका शिखा दवाडीले २०, सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन बनाए।

बलिङतर्फ कोशीकी लकिता राजवंशीले चार ओभरमा पाँच रन खर्चेर तीन विकेट लिइन्। निशा शाह र एलिशा खादियाले दुई–दुई तथा रुबिना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए।

तीन विकेट लिएकी लकिता खेलको प्लेयर अफ द म्याच घोषित भइन्।