काठमाडौँ, मङ्सिर ११ । भारत ‘ए’ लाई ८ विकेटले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहीबार राति भएको पहिलो सेमिफाइनलमा भारत ‘ए’ ले दिएको ३ सय १८ रनको लक्ष्य श्रीलंकाले ४१ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो।
श्रीलंकाको जितमा ओपनर लसिथ क्रुसपुले र सिनेथ जयवर्द्धनेले शतकीय पारी खेले। उनीहरूले पहिलो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरेका थिए। जयवर्द्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १ सय ५ रन बनाए। क्रुसपुलेले १ सय ७ बलमा १२ चौका र ३ छक्काको मद्दतमा १ सय १६ रन जोडे।
त्यस्तै, निशान मदुष्काले अविजित ५८ र कप्तान पवन रत्नायकेले अविजित ३१ रन बनाए। भारतका हर्षित राणा र शाहबाज अहमदले एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो। भारतका अभिषेक शर्माले सर्वाधिक ७८ रन बनाए। शाहबाज अहमदले अविजित ५४ र कप्तान तिलक बर्माले ५३ रनको योगदान दिए। वैभव सूर्यवंशीले ४० रन जोडे।
श्रीलंकाका निपुन धनन्जय, रविन्दु फर्नान्डो र जनिथ लियानागेले समान दुई–दुई विकेट लिए। उत्कृष्ट शतकीय पारी खेलेका जयवर्द्धने खेलको प्लेयर अफ द म्याच घोषित भए।













प्रतिक्रिया दिनुहोस्