काठमाडौँ, मङ्सिर ११ । मलेसिया जाने नेपाली श्रमिकसँग अवैध रूपमा रकम असुली गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्यसचिव एकनारायण अर्यालको बूढानीलकण्ठस्थित निवासमा छापा हानेको छ।
मलेसिया जाने श्रमिकसँग रकम असुलीसम्बन्धी कागजात हुन सक्ने आशंकामा सीआईबीले बिहीबार उनको निवासमा छापा मारेको हो। प्रहरीले अर्याललाई बिहीबार नै पक्राउ गरिएको जानकारी सार्वजनिक गरेको थियो।
सीआईबीको अनुसन्धानअनुसार कैलाश खड्काको माइक्रोटेक प्रालिले मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक प्रक्रिया सञ्चालन गर्दै आएको थियो। माइक्रोटेकले नेपाल र मलेसिया सरकारबीच २०७५ कात्तिकमा भएको सम्झौताविपरीत श्रमिकबाट रकम असुली गरेको अनुसन्धानमा खुलेको बताइएको छ।
दुई देशबीचको सम्झौतामा नेपाली श्रमिकलाई शून्य लागतमा मलेसिया पठाउने व्यवस्था गरिएको थियो। सरकारले तोकेको ६ हजार ५०० रुपैयाँ बायोमेट्रिक शुल्कसमेत मलेसिया पुगेपछि रोजगारदाता कम्पनीले पहिलो महिनामा फिर्ता गर्ने उल्लेख थियो।
तर, उक्त रकमबाहेक सन् २०२६ मे १८ देखि थप १०० रिङ्गेटसमेत असुली गरिएको अनुसन्धानमा खुलेको छ। सम्झौताअनुसार उक्त व्यवस्था मलेसियाली श्रमिकका लागि मात्र लागू हुने र अन्य देशबाट मलेसिया जाने श्रमिकका हकमा लागू नहुने उल्लेख छ।
अनुसन्धानका क्रममा माइक्रोटेक प्रालि र मलेसियास्थित बेस्टिनेट कम्पनीबीचको सम्झौताका आधारमा नेपाली श्रमिकबाट रकम असुली गरी बेस्टिनेटलाई पठाइएको खुलेको प्रहरीले जनाएको छ।
यस प्रकरणमा नेपालस्थित मलेसियाली दूतावासको भूमिकामाथि पनि प्रहरीले शंका व्यक्त गरेको छ। सम्झौताविपरीत माइक्रोटेकका सञ्चालक कैलाश खड्कालाई अनुकूल हुने गरी दूतावासबाट पत्र तयार पारेर मन्त्रालयमा पेस गरिएको देखिएको अनुसन्धानमा उल्लेख छ।
सीआईबीको अनुसन्धानअनुसार श्रमिकसँग रकम असुली गर्ने कार्य २०७० सालदेखि नै सुरु भएको र २०७५ सालमा दुई देशबीच सम्झौता भएपछि पनि जारी रहेको पाइएको छ।













प्रतिक्रिया दिनुहोस्