सुर्खेत, मङ्सिर ११ । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताका खेल कर्णाली प्रदेशसहित बाँके, बर्दिया र पश्चिम रुकुमका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, पुरुष फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्। त्यसैगरी बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ।
खेल तालिकाअनुसार सुर्खेतको वीरेन्द्रनगरमा बिहान ९ बजेदेखि महिला क्रिकेट र महिला बास्केटबलका खेल सुरु हुनेछन्। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबलका खेल पनि मुख्य रंगशालामा बिहान ९ बजेदेखि सुरु हुनेछन्।
त्यस्तै, सुर्खेतस्थित मुख्य कभर्डहलमा बक्सिङ र मिनी कभर्डहलमा जिम्न्यास्टिकका खेल सञ्चालन हुनेछन्। ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका प्रतिस्पर्धा हुनेछन्।
सुर्खेतबाहिर नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्